राजविराज, १३ पुस । हरवाचरवा मुक्त घोषणा तथा सरोकारवालाहरुसँगको समिक्षा बैठक कार्यक्रम शुक्रबार सप्तरीको बोदे बसाईन नगरपालिकामा सम्पन्न भएको छ ।
बोदे बर्साइन नगरपालिकाको सभाहलमा सम्पन्न समिक्षा बैठकमा द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा जिल्लाको बिभिन्न चार वटा पालिकामा सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत सन् २०२३ को जनवरीदेखि २०२३ को डिसेम्बर सम्म गरिएको गतिबिधिहरुको समिक्षा गरिएको छ ।
कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले न्यायको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि बिभिन्न किसिमका बिभेद भोग्नु परेको गुनासो गर्दै हरवा चरवाका प्रतिनिधिहरुले अझै उठिबासको पीडा भोग्न बाध्य भएको बताएका छन् । कार्यक्रममा हरवा चरवा अधिकार मञ्चका उमाकान्त सदा, बोदे बसाईन नगर हरवा चरवा सञ्जालका शिब नारायण सदा, रुपनी गाउँपालिका हरवा चरवा सञ्जालका सूर्य नारायण सदा, शम्भुनाथ नगरपालिका हरवा चरवा सञ्जालका दुर्गीदेवी सदा लगायतले सरकारबाट हरवा चरवा मुक्तिको घोषणा भएपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चुतरनारायण चौधरीको अध्यक्षतामा आयोजित समिक्षा बैठकमा बोदे बसाईन नगरपालिकाका इन्जिनियर दिनेश कुमार ठाकुर, रुपनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रघुनन्दन यादव डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष भागेश्वर यादव लगायतले हरवा चरवा परिवारको पुर्नस्थापना र रोजगारीका लागि पहल हुनुपर्नेमा जोड दिनुभयो ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम सहजकर्ता बिजली रामद्वारा सञ्चालित समिक्षा बैठक कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले कार्यक्रमको उद्देश्य तथा बर्षभरी गरिएका गतिबिधि बारे प्रकाश पार्नुभयो । कार्यक्रममा स्वागत मन्त्व्य संस्थाका सहजकर्ता सञ्जीव कुमार यादवले गर्नुभएको थियो ।




















