सर्लाही, कात्तिक ९ गते । सर्लाहीको मलङ्गवामा दुर्गा पुजाको मुर्ति विर्सजन गर्ने क्रममा बिुधवार दिउँसो देखि विवाद शान्त भएको छ ।

दुर्गा पूजाको मूर्ति अघिल्ला वर्षहरूमा प्रयोग गरिएको बाटो हुँदै सेलाउनका लागि लैजान पाउनुपर्ने माग गरी युवाहरूले प्रदर्शन गर्दा केहीबेर प्रहरीसँग मलङ्गवास्थित जिविस चोकमा झडप भएको थियो । झडप रोक्न प्रहरीले १६ सेल अश्रुग्याँस प्रहार गरेको थियो । घाइते भएका एक प्रहरी जवानको वीरगन्जमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

थप प्रहरी परिचालन गरी बुधवार साँझ ६ बजेसम्ममा मूर्ति विसर्जन कार्य सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाही प्रहरीका सूचना अधिकारी ९डिएसपी० दीपेन्द्र पन्जियार थारुले बुधबार रातिबाटै मलङ्गवाको अवस्था सामान्य बनिसकेको उल्लेख गर्नु भयो । 

थारुका अनुसार मलङ्गवाको जिविस चोक, शिवसागर चोक, नगरपालिका चोकसहित जिल्लाभर ७४ स्थानमा दुर्गापूजा भएका छन् । जिविस चोकबाहेक अन्य स्थानमा शान्तिपूर्वक मूर्ति सेलाउने काम भएको डिएसपी थारुले बताउनुभयो । 

बारम्बार तनाव भएकाले प्रहरीले सदरमुकाम मलङ्गवामा उच्च सुरक्षा सतर्कता अपनाएको थियो ।