सिरहा,असोज ५ गते।  एक कपडा पसलमा आगलागीहुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। सिरहाको विष्णुपुरा बजारमा रहेको कपडा पसलमा आग लागी हुँदा लाखौको  कपडा लगायत अन्य सामन जल्दा लाखौको क्षति भएको हो ।

विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ स्थित बजारमा सञ्चालन गर्दैआएको कपडा पसलमा विहिवार राती आगलागीहुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर कामनलाग्ने भएको छ।

आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।


उनका अनुसार क्षतिका विवरणहरु अझै संकलन हुन बाँकी रहेकोले तत्कालै क्षतिको एकीन गर्न नसकिने बताए। विद्युत सर्टभएर आगलागी भएको अनुमान गरिएपनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ।

नजिकै रहेको चिया पसलेले  पसलबाट धुवा निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए। प्रहरी आएर पसल खोल्ने प्रयास गरेपनि सम्भव नभएपछि पसलका साहुलाई बोलाएको थियो।

पसले आउँदासम्ममा धेरै सामान जलिसकेको प्रहरीले बताएको छ। सिरहा र गोलबजार नगरपालिकाबाट गएका बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।