राजविराज, १३ साउन । राजविराज नगरपालिका ९ स्थित जनता आधारभूत विद्यालय मलेठ गढियामा अध्ययनरत चार जना छात्रछात्रालाई स्व. राजेन्द्र लाल दास उज्जवल भबिष्य छात्रबृति प्रदान गरिएको छ । 

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये सर्बाेकृष्ट अंक ल्याउने जेहेन्दार दुई जना छात्र र दुई जना छात्रालाई सो छात्रबृति वितरण गरिएको हो । 

स्व. दासकी श्रीमति मुनीदेवी दास र वडा नम्बर ९ का वडा प्रतिनिधि चन्दर यादव, विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर पासवानले छात्रछात्रालाई छात्रबृति वापतको चेक हस्तान्तरण गर्नुभयो ।

स्व. दासको स्मृतिमा परिवारजनद्वारा स्थापित सो छात्रबृति विगत पाँच बर्षदेखि सो विद्यालयको कक्षा ५ मा सर्बाेत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक छात्रालाई नगद रु. पाँच हजारका दरले छात्रबृति वितरण गर्दै आएको छ । 

अघिल्लो बर्ष प्राबिधिक कारण छात्रबृति वितरण हुन नसकेकोले दुबै बर्षको छात्रबृति यसबर्ष एकै पटक वितरण गरिएको विद्यालयका प्रअ पासवानले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल सदाको अध्यक्षतामा आयोजित छात्रबृति वितरण कार्यक्रममा स्व. दासका परिवारजन, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय अभिभावक, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।