अनुभक्त चौधरी

सिरहा चैत्र १४ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित धार्मिक तथा ऐतिहासिक स्थल राजदेवी पंचावती मन्दिरको संरक्षण र सम्बर्धनको लागि सबै एक जुट भएर लाग्नुपर्ने सहभागीहरुले वताएका छन् । 

समितिको १० औं साधारण सभाको उपलक्ष्यमा संघीय सांसद लीलानाथ श्रेष्ठले सिरहाको धरोहरको रुपमा रहेको राजदेवी पंचावती मन्दिरको संरक्षणको लागि आफूले यथाशक्य पहल गर्ने वताउनुभयो ।    

ऐतिहासिक तथा सबैको आस्थाको केन्द्र रहेको पंचावती मन्दिरलाई विकास गर्न सके सिरहा जिल्लाको मात्र नभई देश विदेशमा समेत पहिचान हुने श्रेष्ठले उल्लेख गर्नुभयो । 

कार्यक्रममा सिरहा क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले श्रद्धालु भक्तजनको अवास निर्माणको लागि आफ्नो संसदीय विकास कोषबाट २५ लाख रकम प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । 

त्यसैगरी लहान नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तेज नारायण चौधरीले मन्दिर प्रवेश गर्ने पूर्वपट्टि प्रवेशद्वारका लागि वडाबाट वजेट विनियोजन गरिने उल्लेख गर्नुभयो । 

साधारण सभामा जग्गा दाता, पुजारी, आठौ गटीका प्रमुख, स्थानीय भरभलादमी  र संचारकर्मीहरु लगायतकालाई दौसल्ला र मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो । कार्यक्रको अध्यक्षता खुशीलाल चौधरीले गरेका थिए भने संचालन विरेन्द्र चौधरीले गर्नुभएको थियो ।