सिरहा,फल्गुन ३ गते । सिरहाको गोलबजारस्थित ए.बी.मलको गोदाममा आगलागीबाट भएको क्षति हेर्न मधेश प्रदेश सरकारका गृह तथा संचार मन्त्री शत्रुधन प्रसाद सिंह आज घटना स्थल पुगेका छन् ।
आगलागीबाट भएको क्षतिको अवलोकन गर्दै मन्त्री सिंहले भएको उचित क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग आफूले पहल गरिने जनाउनुभएको छ । गोलबजार मन्त्रीको गृह नगर पनि हो ।
आगलागीबाट कपडा, खाद्यान्न सामाग्री, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका सामाग्री, एसी मेसीनहरु लगायत सात करोड मूल्य बराबरको सामाग्री जलेर नष्ट भएको मलका संचालक मो.इजहरुल खानले दावी गर्दै आएका छन् ।
सुपर मार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलको गोदाममा गत माघ २९ गते विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने जनाइएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले घटना र क्षतिबारे अनुसन्धान भइरहेको जनाइएको छ । 




















