धनुषा, पुस १० गते । मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । धनुषको मुख्यापट्टीमा अज्ञात व्यक्तिको गोली प्रहार गरि एक जनाको हत्या गरेका छन् ।

शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् । बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताए ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।