महोत्तरी,भदौ २२ गते । महोत्तरीको बर्दिबास नगरपालिका भित्र जङ्गली हात्तीले पाँच घर क्षति पुर्याएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाउनु भयो ।
रातीको समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जयकिसुन महतो,सोमबहादुर तामाङ, जितबहादुर योञ्जन र बुद्धिमान सिग्देलको घर भत्काएको हो । अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरी हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए ।
हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति नभएको प्रहरीले उल्लेख गर्नुभयो ।




















