काठमाडौं,फागुन १८ गते – नेपाल विश्वका दुई ठूला र शक्ति सम्पन्न विशाल राष्ट्रको बीचमा छ। नेपालले विगतदेखि नै दुवैतिरको संरक्षण र सहयोगसमेत प्राप्त गर्दै आएको छ।

हरेक देशको अर्को देशसँग आआफ्नै कूटनीतिक तथा राजनीतिक सम्बन्ध हुन्छ। कुनै देश यस्ता पनि छन् जसको मानसिकता र दृष्टिकोण प्रायः सधैं पूर्वाग्राही देखिन्छ। जति राम्रा काम भए पनि त्यसको प्रशंसा गर्ने संस्कार देखिँदैन।बरु आलोचना गर्ने क्रम निरन्तर रहन्छ। यस्ता राष्ट्र पनि छन्, जसले निरन्तर रूपमा अवाञ्छनीय गतिविधि सञ्चालन गरिरहन्छन्। त्यसको विरोधमा कहिलेकाहीँ प्रदर्शन र नकारात्मक आवाजसम्म उठ्ने गरेको देखिन्छ। तिनमा त्यस्तो विध्वंस र अप्रिय काम–कारबाही नभए पनि राष्ट्रविशेषप्रति आक्रोश र विरोधको क्रममा कुनै कमी आएको देखिन्न। यसको मूल कारण भनेकै पूर्वाग्रहपूर्ण मानसिकता र दृष्टिकोण नै हो।

ठीकविपरीत सधैं विकृतिजन्य क्रियाकलापको राष्ट्रव्यापी स्तरमा सञ्चालन गर्नेहरूविरुद्ध कहिले पनि कुनै विरोध र आक्रोश देखिँदैन। जसबाटै स्पष्ट हुन्छ कि त्यो पूर्वाग्राही मानसिकता र दृष्टिकोणको उपज मात्र हो। त्यो राष्ट्रविरुद्ध मात्र त्यसो हुने गरेबाट पनि छर्लंग हुन आउँछ। विश्वका विभिन्न राष्ट्रबीच आआफ्नो आवश्यकता, व्यावहारिकता, परिस्थिति, कारोबारिक अनुकूलताअनुरूप सम्बन्ध बनिरहेको हुन्छ। जसलाई समय र आवश्यकताअनुसार उभय पक्षलाई अनुकूल हुने गरी कार्यान्वयन गरिने चलन धेरै अघिदेखिकै हो। द्विपक्षीय सम्बन्धको प्रकृति पनि फरक–फरक खालको हुने गर्छ। सम्बन्धको प्रकृति हेर्दा छिमेकी मुलुकसँगको सम्बन्धको प्रकृति टाढा रहेका राष्ट्रहरूको दाँजोमा फरक हुन्छ नै। अझ विशिष्ट प्रकारको समेत हुन सक्छ।

छिमेकी मुलुक भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको भनाइ यहाँ सान्दर्भिक हुन सक्छ– ‘मित्रलाई फेर्न सकिन्छ तर छिमेकीलाई फेर्न सकिँदैन।’ भनाइको अर्थ यो हो कि छिमेकीको भूमिका र सहचर्य दीर्घकालीक हुन्छ। जसलाई क्षणिक आवेशमा आएर संकीर्ण सोच र सीमित मानसिकताको दृष्टिबाट हेर्नु हुँदैन। छिमेकीहरूसँग धेरै सोचविचार गरेर चल्नुपर्छ। उदात्त विचार राखेर तद्नुरूप नै पहल गर्नु हरदृष्टिले महत्त्वपूर्ण र फलदायी हुन्छ। संकीर्ण मानसिकता र आवेशमा बोलेर सम्बन्ध सुमधर होस्, यो सम्भव छैन। 

भावनात्मक संवेगलाई संयमित राखेर मात्र व्यवहार गर्नुपर्छ। छिमेकीसँगको सम्बन्धलाई प्रगाढ र अनुकूल प्रकृतिको रूपमा संरक्षित गर्न सकिन्छ। नेपालका छिमेकी विश्वका दुई ठूला विशाल राष्ट्र चीन र भारत छन्। भारतसँग नेपालको सिमाना दक्षिणमा मात्र नभएर पूर्व र पश्चिममा पनि छ। त्यस्तै उत्तरको छिमेकी विशाल राष्ट्र चीन हो। यस प्रकार नेपाल विश्वका दुई ठूला र शक्ति सम्पन्न विशाल राष्ट्रको बीचमा छ। नेपालले विगतदेखि नै दुवैतिरको संरक्षण र सहयोगसमेत प्राप्त गर्दै आएको छ।

नेपाल–भारत सम्बन्धमा अनेक पक्ष छन्। जसले नेपाल जनतासँग सोझो सरोकार राख्छन्। कहिले व्यापार पारवहनका विषय त कहिले सिमाना। अनि कहिले नेपालको आन्तरिक राजनीतिको विषयमा विवाद सिर्जना हुन्छ। भौगोलिक अवस्थाले नेपाल भूपरिवेष्ठित देश मात्र होइन, यो तीनतिर भारतसँग जोडिएको पनि छ। उत्तरसँगको सम्बन्ध पहिलेदेखि नै कायम रहे पनि नेपाल भारतसँग पनि धेरै कुरामा निर्भर छ। नेपाल भारत सम्बन्धले सबै क्षेत्र– सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक आदि जोडिएको छ। खासमा सम्बन्धमा समय–समयमा आउने विवादको स्थायी समाधान पनि हुँदैन। स्पष्ट छ, नेपाल भारत खुला सीमाको समस्या बहुआयामिक छ। व्यवस्थापन पनि सहज छैन।

नेपाल–भारत सम्बन्धमा चीन स्वतः आउँछ। नेपालको उत्तरसीमा चीनसँग १४ सय १४ किलोमिटर जोडिएको छ। चीनसँग पनि नेपालको संखुवासभा, रसुवा, सिन्धुपाञ्चोक र हुम्ला क्षेत्रमा सीमा मिचेको धारणा बारम्बार आइरहेको छ। जसको अध्ययन पनि भएको छ। तर प्रतिवेदन सार्वजनिक भएको छैन। खासमा सीमा क्षेत्रको समस्या संवेदनशील र जटिल हुन्छ। त्यसैले यसको वस्तुगत ज्ञान हुनुपर्छ जसका लागि गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्छ। चीन–भारतबीच अवस्थित नेपालको भू–रणनीतिक महत्त्व छ। नेपालले राजनीतिक तहमा सीमाबारे छिमेकीसँग छलफल गरी एकअर्काको चासो र राष्ट्रिय सुरक्षा समेत स्थायी ढंगले  एकनासको बनाउने प्रयत्न गर्नुपर्छ