न्युज डेस्क

सिरहा,पुष २८ गते । बाँसको सामाग्री बिक्रीबाट आएको आम्दानीले गर्जो टारिरहेका डोम समुदायलाई पछिल्लो कालमा बाँसको सामाग्रीहरुको माग कम हुन थालेपछि आर्थिक अभावमा उनीहरु समस्यामा परेका बेला व्यवस्थित घर नहुँदा समस्या खेपिरहेका सिरहास्थित थलहाका सीमान्तकृत डोम समुदायको लागि प्रदेश सरकारले पक्की घर बनाइ दिएका छन् ।

रकम अभावमा वर्षौदेखि ओत लाग्ने घर समेत बनाउन नसक्दाको पीडा खेपिरहेका सिरहास्थित विष्णपुर गाउँपालिका वडा नं.४ स्थित थलहाका डोम समुदायलाई प्रदेश सरकारले पक्की घर निर्माण गर्न सहयोग गरेपछि उनीहरुलाई जीवन यापन गर्न सहज भएको छ । 

प्रदेश नं.२ सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको करिव चालिस लाखको लागतमा  थलहामा रहेका डोमसमुदायको लागि एघार वटा घर निर्माण गर्न सहयोग गरेपछि उनीहरु अहिले आनन्द तरिकाले बसिरहेका छन् । 

बाँसको सामाग्री बिक्रीबाट आएको आम्दानीले जसोतसो दैनिकी गर्जो टार्ने गरिएपनि घर बनाउने रकम नहुँदा यसअघि परालको छानो हालेर बनेको घरमा उनीहरु बसिरहेका थिए । वर्षात्को मौसममा परालको छानोबाट पानी चुहिने तथा चिसो हावा सिधै घरमै ठोक्किने हुँदा दैनिकी जीवन एकदमै कठिनाईसँग वितिरहेको थियो । केही समय अघि प्रदेश सरकारले पक्की घर निर्माण गरिदिएर ठूलो गुण लगाएको उनीहरुले उल्लेख गरेका छन् । 

प्रदेश सरकारबाट विपन्न, दलित एवम् सीमान्तकृतहरुको लागि बनाइदिएको घर सह्रानीय रहेको उल्लेख गर्दै उनीहरुले घरको पलास्टर, चर्पि लगायतको व्यवस्था नगरिएको कारण आफूहरु दुःखित भएको बताउँ छन् ।

बाँसकै सामाग्री बिक्रीबाट आएको आम्दानीले अहिलेसम्म आफूहरुले जीवन यापन गरिरहेको डोम समुदायको कथन रहेको छ । यद्यपि पछिल्लो कालमा बजारमा बाँसको सामाग्रीको माग अत्यधिक कम हुन थालेपछि  आम्दानीको श्रोत नै सुकिसकेकोले रोजगारीको सिर्जना गरिदिन डोम समुदायहरुले  सरकारसँग जोडदार माग गरेकोे छ ।