सिरहा,पुष २७ गते । प्राकृतिक सौन्दर्यता सँगै पिकनिक स्थल, बोटिग स्पटसँगै रमणीय दृश्यका कारण सबैको रोजाइमा अहिले हाथिदह हुन पुगेको हो ।
सिरहाको लहान नगरपालिका वडा नं.१५ स्थित उत्तरवर्ती क्षेत्रमा रहेको कोइरालो खोला नमूना सामुदायिक वनभित्र रहेको हाथि दह अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । नयाँ वर्ष होस् वा कुनै चाडपर्व या उत्सव मनाउनै किन नहोस् सबैको रोजाइमा अहिले हाथिदह परेको छ । कारण त्यहाँका सुन्दर शान्त एवम् मनमोहन दृश्य रहेको छ ।
प्रदेश नं.२ सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयमार्फत् डिभिजन वन कार्यालय लहान सिरहाले सिमसार क्षेत्र संरक्षण एवम् पर्यापर्यटनको लागि आर्थिक सहयोग गरेपछि सिरहास्थित हाथि दह पर्यटकीय स्थलको रुपमा विकास भएको छ ।
सिरहाको लागि मात्र नभई अन्य जिल्लाबाट आएका आगन्तुकको लागि पनि रोजाईको विषयमा हाथि दह भएको छ । हाथिदह वरिपरी रहेका चुरेको सौन्दर्यसँगै बोटिंग स्पट, पिकनिक स्थल, विभिन्न खेल मैदान लगायत जंगली जनावरणले उक्त ठाउँको सौन्दर्यता बढाएको छ ।
सिरहाको ठूलो व्यापारिक बजार लहानबाट करिव ४ किलोमिटर उत्तर चुरेसँग जोडिएको हाथि दहमा प्रदेश नं.२ सरकार एवम् संघीय सरकारमार्फत् सिमसार क्षेत्र व्यवस्थापन एवम् पर्यापर्यटनको लागि पटक पटक गरी करिव ६२ लाख ५० हजार रकम प्रदान गरिएको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले उल्लेख गर्नुभयो ।
५६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन यस अघि सामुदायिक वनमै सीमित रहेको थियो । प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालय एवम् संघीय सरकारको सशर्त अनुदानबाट आएको रकमबाट डिभिजन वन कार्यालय लहानमार्फत् सहयोग गर्न थालेपछि उक्त स्थान अहिले रमणीय पर्यटकीय एवम् आकर्षणको केन्द्रको रुपमा विकास भएको छ ।




















