सिरहा,पुष ५ गते – लालबन्दीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सोमबार पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका ९ मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका– १ रतनपुर निवासी १७ वर्षका दीपेन्द्र यादवको मृत्यु भएको हो ।

ट्यूसन पढ्न हिँडेका यादवलाई ना. ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो । उनी लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए ।बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले टायर बालेर अवरूद्ध गरेका छन् ।प्रदर्शनकारीलाई सम्झाइ– बुझाइ गरेर सडक खुलाइएको प्रहरीले बताएको छ । घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएको छ