सिरहा,कार्तिक ५ गते । जनकपुरधाम उपमहनगरपालिका ८ स्थित बल्वा टोलमा सडक तथा नाला व्यवस्थापन नगरेको भन्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।
लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली बेइज्जती तथा कुटपिट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई नाङ्गै नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै ट्रेड युनियन धनुषाले त्यसको कडा रूपमा विरोध गरेको हो।
कुनै राष्ट्रसेवक कर्मचारी गल्ती गरेको खण्डमा त्यसलाई दण्डित गर्ने अनेकन कानूनी प्रवधान हुँदाहुँदै राउतका कार्यकर्ताहरूले कानूनी राज्यलाई उपहास गरेको निजामती कर्मचारी अधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष देवेन्द्र मिश्रले बताए । ‘राउतका कार्यकताद्वारा प्रमुख कुशवाहामाथि भएको घटनालाई हामी घोर भर्त्सना तथा दोषीमाथि कारवाहीको माग गर्छौं’, अध्यक्ष मिश्रले भने, ‘तर, भोलि बिहान सबै संगठनको बैठक राखेर थप आन्दोलनका कार्यक्रममा तय गर्छौं ।’
जनकपुरधाम उपमहनगरपालिका ८ स्थित बल्वा टोलमा सडक तथा नाला व्यवस्थापन नगरेको भन्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गरेका थिए ।प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर जनकपुर घुमाइरहँदा प्रहरीहरु मुकदर्शक बनेको कर्मचारीहरूको गुनासो छ ।
करिव ४०० को संख्यामा रहेका जनमत पार्टीका कार्यकर्ताहरूका अगाडि प्रहरी न्यून संख्यामा रहेकाले केही गर्न सकिरहेका थिएनन् । प्रमुख कुशवाहलाई नियनत्रणमै लिएर जनकपुरधाम उपमहनगरपालिकाको मूल गेटमा ल्याएपछि मात्र प्रहरीले उनलाई उद्धार गरेको थियो ।




















