सिरहा,कार्तिक ४ गते । पोखरिया नगरपालिकाका कर्मचारीले गत साउनदेखि नै तलब पाएका छैनन् ।
तलब नपाएकाले यसवर्षको चाडबाड समेत खल्लो भएको राजश्व शाखाका कर्मचारी महेश साह बताउँछन् । ‘तलब नपाएपछि सर सापट गरेर काम चलाइयो के गर्ने चाडपर्व मनाउनैपर्छ’ उनले भने ‘दीपावली र छठमा अझ बढी खर्च हुन्छ कसरी टार्ने भन्ने चिन्ता छ।
पञ्जीकरण शाखाका एमआईएस अपरेटर सु्नीलकुमार साहले पनि तलब नपाउँदा घर व्यवहार चलाउन मुश्किल भएको जनाएको छ।पोखरिया नगरपालिकाले असार १० गतेभित्र गर्नुपर्ने नगरसभा अहिलेसम्म गर्न सकेको छैन । नगरसभाबाट बजेट पारित नगरेसम्म आर्थिक वर्ष २०७८÷७९ मा बजेट गर्न गर्न पाउँदैन ।
पोखरिया नगरपालिकाको स्थानीय सेवा व्यवस्थापन ऐन २०७७ मा नगरपालिकामा कार्यरत कर्मचारीले एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्च स्वरुप पाउने व्यवस्था गरिएको छ । यस्तो रकम वडा दशैंमा वितरण गर्ने चलन छ ।
तर यस वर्ष कर्मचारीले चाडपर्व खर्च त के नियमित तलबसमेत पाएका छैनन् । त्यसैले कर्मचारी कार्यालयमा आउन मन गर्दैनन् । आइहाले पनि ढिलो आउँछन् र काम गर्न अल्छी गर्छन् ।
दशैं सकिएलगत्तै पालिकाका १० वटै वडाबाट सेवाग्राही नगरपालिका कार्यालयमा विभिन्न सेवा लिन आएका छन् । तर कर्मचारी फाट्टफुट्टमात्र आएका छन् ।
पोखरिया नगरपालिका–९ चौकिया बैरियाबाट अपांगताको परिचपय पत्र लिन आएका सेवाग्राही कर्मचारीलाई कुरेर बसेका छन् । बिहीबार बिहान ११ बजे नगरपालिका कार्यालय पुग्दा अधिकांश शाखामा कुर्सी खाली रहेको र सेवाग्राही कर्मचारीलाई पर्खेर बसिरहेका पाइएको पोखरिया युवा समाजले जनाएको छ ।
उपाध्यक्ष दिनेश मिश्रका अनुसार तलब नपाएकाले कर्मचारी काम गर्न जाँगर गरेका छैनन् । ‘भागवण्डा मिलेको छैन, कि के मिलेको छैन कुन्नि, नगर सभा हुन सकेको छैन’ उनले भने ‘नगरसभा नभएकोले कर्मचारीले तलब नपाएका रहेछन् । कर्मचारी नहुँदा सेवाग्राही काम भइरहेको थिएन, विजोगको स्थिति देखियो ।




















