सिरहा,कार्तिक ४ गते ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विद्यालयको भौतिक पूर्वाधार निर्माणका कार्यमा लाखौं अनियमितता गरेको रहस्य बाहिरिएको छ । नगरका बिभिन्न ५ विद्यालयलाई निर्माण कार्य शुरु नगर्दै ७८ लाख निकासा गरिसकेको छ ।

महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार माध्यमिक विद्यालय मधवापुरलाई २ कोठे शौचालय निर्माणमा १४ लाख, राष्ट्रिय आधारभूत विद्यालय रम्पुरा मल्हनियाँलाई २ कोठे भवन निर्माणमा १६ लाख, माध्यमिक विद्यालय हनुमाननगरलाई २ कोठे भवन निर्माणमा १६ लाख, कोशी आधारभूत विद्यालय कोशी ब्यारेजलाई २ कोठे भवन निर्माणमा १६ लाख, दलित राष्ट्रिय प्राथमिक विद्यालय ईनर्वालाई २ कोठे भवन निर्माण कार्यका लागि १६ लाख गरि ७८ लाख रुपैया आर्थिक बर्षको अन्त्यमा अनियमित तरिकाले निकासा गरेका छन् ।

निकासा भएको रकमबाट विद्यालयले लेखा परीक्षण अबधिसम्म पनि निर्माण कार्य शुरु गरेको प्रगति विवरण पेश नगरेको प्रतिबेदनमा उल्लेख गरेको छ । बजेट निकासाको प्रयोजन अनुरुप निर्माण कार्य सम्पन्न गरि प्राबिधिक जाँचपास, बिल भरपाई, नापी किताब, कार्यसम्पादन प्रतिबेदन समेत पेश गरेको छैन भने महालेखा परीक्षकको प्रतिबेदनअनुसार नगर क्षेत्रका विद्यालयहरुमाथि ७८ लाख बेरुजु रहेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले भवन निर्माणका लागि पेश्की दिएको स्वीकार गरे । उनले विद्यालयहरुलाई दिएको पेश्की रकमले केही विद्यालयले काम अगाडि बढाएको तथा कतिपयको बाँकी रहेकोले काम नगर्ने विद्यालयबाट पेश्की असुल गरिने प्रतिक्रिया दिए ।