सिरहा, कात्तिक २ गते। रकम अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा चरम संकटको समस्या देखिने खतरा बढेको छ । लगानी योग्य रकम (तरलता) अभाव हुँदा बैंकहरु छट्पटाएका छन् । रकम अभाव भएपछि बैंकहरु यतिबेला एक अर्काको निक्षेप खोसाखोसमा लागेका परेका छन् ।
एक अर्काको निक्षेप बढाउने रणानीति अनुसार हिमालयन बैंकले सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेको छ । ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ भने त्यसलाई पछ्याउँदै एनआईसी एशिया बैंकले पनि आकर्षक ब्याजदर सार्वजनिक गरेको छ ।
ब्याजदर दोहोरो अंकमा पुर्यायाउने बैंकहरुमा हिमालयन, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी लगायत आधा दर्जन भन्दा बढी बैंकहरुरहेका छन् । २०७५ मंसिरको रेकर्ड ब्रेक गर्दै बैंकहरुले ब्याजदर अत्यधिक महंगो बनाएका हुन। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार संस्थागत निक्षेप जोगाउनका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाउन आक्रामक भएको हो ।
यस्तो प्रक्रिया लामो समयसम्म नजाने र गयो भने यसले राम्रो नगर्ने उनको पूर्व गभर्नर क्षेत्रीको भनाइ छ । बचतको ब्याजदर अहिले पनि कम नै रहेको उनले बताए । मूल्यवृद्धि भन्दा बचतको ब्याजदर कम हुँदा बैंकमा बचत गर्नुभन्दा अन्तै लगानी गर्नु फाइदाजनक हुने सर्वसाधारणको बुझाइ रहेको पूर्व गभर्नर क्षेत्री जनाउनुभयो ।
अहिले बैंकहरुमा तरलता अभाव हुँदा बैंकहरु अलिक अप्ठेरो परिस्थितिमा देखिएको पूर्व गभर्नर क्षेत्रीको बुझाइ रहेको छ । वित्तीय क्षेत्रमा तरलता अभवा हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरु मार्फत समयसमयमा पैसा पठाउने गरेको छ ।
दशैं अघिमात्रै पनि पटक(पटक गरेर करिब एक खर्ब रकम राष्ट्र बैंकले रिपोमार्फत पठाएको थियो । तर, बैंकहरुले रिपोमा त्यतिधेरै चासो नदेखाएको पूर्व गभर्नर क्षेत्री बताउँछन् । अहिले देखिएको समस्या समाधानका लागि केन्द्रीय बैंकले केही न केही भूमिका खेल्नु पर्ने उनको भनाइ छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको ब्याजदर ११।५ प्रतिशत माथि छ । ११.५ प्रतिशत माथि निक्षेपको ब्याजदर भएका बैंकहरुले लिने ब्याजदर र दिने ब्याजदर बिचको अन्तर (स्प्रेड रेट) ४ प्रतिशतमात्रै राख्दा पनि करिब १७ प्रतिशत हाराहारीमा हुन आउँछ । यसरी निक्षेपको ब्याजदर बढाएपछि बैंकहरुको लागत खर्च बढ्ने भयो भने लागत बढ्दा यसको असर आधार दरमा पर्ने देखिन्छ ।
अहिले नै कतिपय बैंकहरुको आधार दर ११ प्रतिशत हारहारीमा छ । आधार दरमा ५ प्रतिशत प्रिमियम जोड्दा पनि बैंकको ऋणको ब्याजदर १६ प्रतिशतसम्म पुगिहाल्छ । यो भनेको अत्यधिक महंगो ब्याजदर हो । यसले उद्योग व्यवसायको लागत बढ्छ र त्यसको मार उपभोक्तासम्म पर्छ । यसले मूल्यवृद्धि बढाउँछ ।




















