सिरहा कात्तिक १ गते । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक यो वर्ष निर्माण भएरै छाड्ने बताउनुभएको छ ।  मन्त्री यादवले हुलाकी सडकको काममा अब विलम्ब नहुने बताउनुभएको हो ।

अहिले सङ्घीय सरकार मातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवले उल्लेख गर्न भयो । 

मन्त्री भएपछि असोज २८ गते जिल्ला भ्रमणमा रहेका यादव पार्टी कार्यकर्तासँग भेटघाटमा ब्यस्त रहनुभएको छ ।  कार्यकर्तासँग भेट गरी मङ्गलवार गृहगाउँ बसन्तपुर हुँदै काठमाडौंं फर्किनु हुने जसपाका नेता एवं कविलासी नगरपालिकाका प्रमुख कौशल किशोर यादवले जानकारी दिनुभयो ।

पश्चिम बलरादेखि पूर्व सङ्ग्रामपुरसम्मको हुलाकी सडक पानी पर्दा हिलाम्मे र घाम लागेको समयमा धूलाम्मे हुँदा स्थानीयलाई कष्टकर किसिमले यात्रा गर्नुपर्ने बाध्यता छ । सञ्चारकर्मीसँगको कुराकानीमा कृषिमन्त्री यादवले मलखादको समस्या र उखु किसानको पीडा सम्वोधन गर्नेगरी आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सर्लाहीको दुई नम्बर निर्वाचन क्षेत्रका सङ्घीय सांसद एवं जनता समाजवादी पार्टीका नेता मन्त्री यादव आफै पनि हुलाकी सडकको निर्माणकार्य अघि बढाउन माग गर्दै केही महिनाअघि सदरमुकाम मलङ्गवास्थित शहीदचोकमा धर्नामा बसेका  थिए । उच्चपदस्थ व्यक्तिहरु धर्नामा बसेर दबाब दिँदा समेत हुलाकी सडकको निर्माण कार्यले गति लिन सकेको थिएन ।