सिरहा २७ असोज पर्यटन बहुआयामिक उद्योग भएकाले देशको आर्थिक विकासको सहयोगी मात्र नभई प्रकृति र संस्कृति संरक्षण, वातावरण संवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ ।
नेपाल प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । विश्वका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी र सीताको जन्मस्थल जनकपुरसहित विभिन्न धार्मिक क्षेत्र खास गरी पशुपतिनाथ, मुक्तिनाथ, देवघाट, त्रिवेणी, बराहक्षेत्रले सबैलाई आकर्षित तुल्याउने गर्छन् । प्राकृतिक र सांस्कृतिक क्षेत्रका सम्पदाहरूको अवलोकन तथा साहसिक खेलका लागि नेपाल प्रमुख गन्तव्य बनेको छ । यो सानो भूगोलभित्र लगभग १२५ जातजाति र १२३ भाषाभाषीका मानिस छन् । त्यसैले नेपाल सांस्कृतिक रूपमा पनि धनी मानिन्छ ।
नेपालमा पर्यटन उद्योगको सुरुआत हिमाल आरोहणपश्चात् भएको हो । विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमै पर्छन् । नेपालमा १९ औं शताब्दीदेखि हिमाल आरोहणको प्रयास जारी थियो । तर १९५० जुन ३ मा फ्रान्सेली दलले अन्नपूर्ण प्रथम ९८०९१ मिटर० आरोहण गरी विश्वकीर्तिमान कायम गर्यो । यसपछि १९५३ मे २९ मा सगरमाथा ९८८४८।२४ मिटर०, १९५५ मे १५ मा मकालु ९८४८५ मिटर० र मे २५ मा कञ्चनजंघा ९८५८६ मिटर०, १९५६ मे १८ मा लोहोत्से ९८५१६ मिटर० र मे ९ मा मनास्लु ९८१६३ मिटर० अनि १९६० मे १३ मा धौलागिरि ९८१६७ मिटर० आरोहण गरिए । यसरी ’६० को दशकमा नेपालका अधिकांश प्रमुख हिमालहरूको आरोहण भयो । युरोपेली आरोहीहरूको यो सफलताले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
विश्वका आरोहीहरूका लागि आकर्षक गन्तव्य बन्दै गएपछि नेपालमा सन् १९५५ मा रसियाली नागरिक बोरिस लिसानेभिचले हालको निर्वाचन कार्यालय रहेको बहादुर
भवनमा रोयल होटेल नामले पहिलो पर्यटकीय होटेल स्थापना गरे । सन् १९६४ मा बेलायती नागरिक जिमी रोबर्ट्सले चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स खोले, नेपालकै पहिलो जंगल रिसोर्ट । यसपछि विश्वबजारमा पर्यटकहरूको खोजी भयो । यसैको सिको गर्दै छ दशकयता नेपालमा १३८ वटा तारे होटेल र ११५१ वटा पर्यटकस्तरीय होटेल खुलिसकेका छन् । यसरी नेपालमा कुल १२८९ होटेलमा ४४ हजार बेड उपलब्ध छन् । यस्तै विभिन्न स्थानमा अनगिन्ती रिसोर्ट र सामान्य होटेलहरू सञ्चालन भइरहेका छन् । छ दशकयता नेपालको आतिथ्य क्षेत्रमा सयौं गुणा वृद्धि भएको छ । सन् २०२१ मा प्रकाशित विश्व श्रम संगठनको अध्ययन प्रतिवेदनअनुसार, नेपालको पर्यटन क्षेत्रले लगभग ८।१ प्रतिशत रोजगारी सृजना गरेको छ, जुन दक्षिण एसियाका अन्य श्रम बजारको भन्दा निकै बढी हो ।
पर्यटकलाई भ्रमण अविस्मरणीय बनाउन न्यूनतम आवश्यक सहयोगदेखि दक्ष साधन र स्रोतसम्मको आवश्यकता पर्छ । यसका लागि नेपालमा पहिलो पटक सन् १९६० मा उनै बेलायती नागरिक जिमी रोबटर््सले नेपाल माउन्टेन ट्राभल कम्पनी स्थापना गरी ट्राभल र ट्रेकिङ सेवाको सुरुआत गरेका थिए । थोमस कुक कम्पनीको सहयोगमा उनले पहिलो पटक ६० जना युरोपेली पर्यटक भित्र्याएर आफ्नो व्यवसाय सुरु गरेका थिए । हाल नेपालमा ट्राभल र ट्रेकिङ कम्पनीको संख्या ६,४४४ छ ।
हवाई यातायात पर्यटन विकासको महत्त्वपूर्ण आधार हो । नेपालमा सन् १९५५ मा हिमालयन नामक पहिलो हवाई कम्पनी प्रारम्भ गरिए पनि पछि सरकारले १९५८ मा शाही नेपाल वायु सेवा निगम कम्पनी स्थापना गर्यो, जसले बाह्य पर्यटक भित्र्याउन महत्त्वपूर्ण योगदान पुर्यायो । हाल आन्तरिक हवाई सेवातर्फ १९ वटा हवाई कम्पनीले सेवा दिँदै आएका छन् । यो क्षेत्रमा निजी क्षेत्रको ८५ प्रतिशत लगानी छ । अहिले ३ वटा नेपाली र २९ वटा विदेशीसहित ३२ हवाई कम्पनीले सेवा पुर्याउँदै आएका छन् ।
कुनै पनि विकासका लागि कानुनी तथा संस्थागत संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । यसै क्रममा सन् १९५५ मा पर्यटन विकास परिषद् गठन भयो । १९५९ मा पर्यटन विभाग स्थापना भयो र कतिपय जिल्लाहरूमा पर्यटन कार्यालय राखिए । १९६९ मा पर्यटन विकास समिति गठन भयो भने १९७८ मा पर्यटन मन्त्रालय नै अस्तित्वमा आयो । १९९७ मा नेपाल पर्यटन बोर्ड गठन भयो, जसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । देश संघीयतामा प्रवेश गरेपछि सन् २०१८ देखि प्रदेशस्तरीय पर्यटन मन्त्रालयहरूसमेत गठन भएका छन् ।
नेपालमा सन् १९५० मा १५३ जना बेलायती पर्वतारोहीहरू पर्यटकका रूपमा भित्रिए, तर १९६२ देखि मात्रै सरकारले विधिवत् रूपमा तथ्यांक राख्न सुरु गर्यो । त्यो वर्ष ६,१६९ जना पर्यटक भित्रिए भने २०१९ मा ११,९७,१९१ जनाभन्दा बढी । विगतमा भारतीय, अमेरिकी, युरोपेली खास गरी बेलायती मूलका पर्यटक भित्रिने गरे पनि हाल १८० भन्दा बढी मुलुकका नागरिकहरू आउने गर्छन् ।
पर्यटन उद्योग फस्टाउन मानव जनशक्तिको महत्त्वपूर्ण भूमिका हुने गर्छ । सरकारी तथा निजी क्षेत्रका महाविद्यालय र तालिम केन्द्रहरूले पर्यटन क्षेत्रको जनशक्ति निरन्तर रूपमा उत्पादन गरिरहेका छन् । हाल पथप्रदर्शक ९ट्रेकिङ गाइड०, सहरी पथप्रदर्शक ९सिटी टुरिस्ट गाइड०, पर्वतारोहण पथप्रदर्शक गरी लगभग २२ हजार दक्ष जनशक्ति यस क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न छ । होटेल तथा रेस्टुरेन्टहरूको जनशक्ति उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ ।
सन् २०१९ मा प्रकाशित तथ्यांकअनुसार, नेपाल भित्रिने पर्यटकहरूमा सबभन्दा बढी ९लगभग ६५ प्रतिशत० मनोरञ्जन तथा बिदा मनाउने सोचका हुन्छन् । लगभग १७ प्रतिशत पर्यटक साहसिक ९पदयात्रा र पर्वतारोहण०, १४ प्रतिशत धार्मिक र बाँकी अन्य उद्देश्यका लागि आउने गर्छन् । नेपालमा ट्रेकिङ, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, प्याराग्लाइडिङ, अल्ट्राफ्लाइट, साइकिलिङ, बन्जी जम्पिङ, जिप फ्लायर, कायाकिङ, क्यानोइङजस्ता साहसिकका साथै सामान्य किसिमका दृश्य तथा चरा अवलोकन, विभिन्न सांस्कृतिक तथा धार्मिक महोत्सवमा सहभागी हुनेसहित ३२ भन्दा बढी प्रकारका पर्यटनसम्बद्ध गतिविधि गरिँदै आएका छन् ।
सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । सन् १९९८ मा नेपाल भ्रमण वर्ष तय गरी ५ लाख, सन् २०११ मा नेपाल पर्यटन वर्ष भनी १० लाख पर्यटक भित्र्याउने योजना ल्याइयो । सन् २०२० लाई फेरि नेपाल भ्रमण वर्ष भनी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण त्यो अभियान स्थगित भयो । पोखरा ९गण्डकी० र लुम्बिनीका पर्यटन व्यवसायीहरूले स्थानीय स्तरमा समेत पर्यटन प्रवर्द्धन अभियानहरू सञ्चालन गर्ने गर्छन् ।
देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान हुन्छ । नेपालमा प्रत्येक विदेशी पर्यटकले सरदर दैनिक ४८ अमेरिकी डलर खर्च गर्ने पर्यटन विभागको तथ्यांक छ । पर्यटकको सरदर बसाइ अवधि १२।७ दिन छ । सन् २०१९ मा प्रकाशित विश्व पर्यटन संगठनको प्रतिवेदनअनुसार, यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको लगभग ७।९ प्रतिशत योगदान गरेको छ । तर हाल कोभिड–१९ का कारण पर्यटन क्षेत्र अत्यधिक प्रभावित भएकाले सन् २०२० को पर्यटक संख्या सन् १९८६ को हाराहारी पुगेको छ ।
अहिले अधिकांश विश्व–नागरिकले कोभिड–१९ को खोप लगाइसकेका छन् । अन्यत्र स्वास्थ्य मापदण्ड पालना गरी पर्यटन क्षेत्रलाई पनि सहज तुल्याउन थालिएको छ । यो पंक्तिकार केही दिनपहिले फ्रान्सको एउटा प्रमुख व्यापारिक सहर मार्सेमा थियो । त्यहाँको पर्यटन बजार सामान्य अवस्थामा फर्केको अनुभूति भयो । पार्क, होटेल, रेस्टुरेन्ट तथा रात्रि जीवनशैलीमा कुनै भिन्नता पाइएन । विशाल बजार, होटेल तथा रेस्टुरेन्टहरूमा स्वास्थ्य प्रमाणपत्र पेस गरेपछि प्रवेश खुला रहेछ । हाल उडानको संख्या कम भए पनि लगभग ३०० जना एकै पटक बोक्ने ठूला विमानहरू यात्रुहरूले खचाखच भरिएका देखिए । नेपालमा पनि स्वास्थ्य मापदण्ड पालना गरी पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान गराउनु अति जरुरी भइसकेको छ ।
अन्त्यमा, पर्यटन बहुआयामिक उद्योग भएकाले देशको आर्थिक विकासको सहयोगी मात्र नभई प्रकृति र संस्कृति संरक्षण, वातावरण संवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ । विभिन्न कालखण्डमा विविध समस्याको सामना गर्दै आएको नेपालको पर्यटन उद्योगले यस पटक पनि कोभिड–१९ को प्रभाव सामना गर्नुपरेको छ र यो कठिनाइबाट पनि चाँडै पार पाउने अपेक्षा छ




















