सिरहा,असोज १६ गते ।जितिया पर्वका पहिलो दिन आज नुहाएर खानेदिन भएकाले कमला नदीमा नुहाउन गएको सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतिय गाडीलाई विपरित दिशाबाट आईरहेको टिफर ठक्करदिंदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा थप पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कर्जन्हा नगारपालिका ४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ गईरहेको म.प्र.०१–००१ ज.०१२४ नम्बरको विद्युतिय इभी गाडीलाई विपरित दिशाबाट आईरहेको म.प्र.०३–००२ ख. ३९९६ टिफरले ठक्कर दिंदा विद्युतिय गाडीमा सवार एक यात्रिको मृत्यु भएको हो।
दुर्घटनामा गम्भिर घाइते गोलबाजर नगरपालिका ४ का महेन्द्र यादवको करिव ४५ वर्षिया श्रीमती शोभा कुमारी यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। दुर्घटनामा परी टाउको, अनुहारमा चोट लागेर अवस्था गम्भिर अवस्थामा रहेका उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
अहिले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखीएको छ।
घाइतेमध्ये गम्भिर अवस्थाका बिरेन्द्र यादवकी २२ वर्षिया छोरी प्रियंका यादवलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल काठमाडौं लगिएको छ। अर्का घाइते गोलबजार ६ का सत्य नारायण महतोको श्रीमती ४५ वर्षिय ललिता महतोलाई थप उपचारको बिराटनगर लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा इभी चालक धनगढिमाई २ का ३५ वर्षिय मन्जुर खान, गोलबजार ४ का रामबहादुर मण्डलकी श्रीमती ३५ वर्षिय संगिता मण्डल, बिरेन्द्र यादवकी ५० वर्षिय श्रीमती फुलकुमारी यादवको अवस्था सामान्य रहेका उनीहरुको फूलकुमारी मेमोरियर कर्जन्हामा उपचार भईरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने टिफरका चालक र टिफर प्रहरी नियन्त्रणमा रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाले गोलबजारबासी स्तब्ध भएका छन्।




















