सिरहा,असोज १६ गते । सिरहाको धनगढीमाई नगरपालिका–१, मेदनीपुरस्थित सरस्वती नदीमा जितिया पर्वका अवसरमा स्नान गर्ने महिलाहरूको ठूलो भीड लागेको छ ।

हिन्दु महिलाहरूले मनाउने कठोर तथा महत्वपूर्ण पर्व जितियाको अवसरमा व्रतालु महिलाहरू बिहानै नदीमा स्नान गर्न पुगेका हुन् ।  जितिया पर्व मनाउन जिल्लाका विभिन्न गाउँ तथा टोलबाट महिला दिदीबहिनीहरू सरस्वती नदीमा स्नान गर्न आएका छन् ।

धनगढीमाई नगरपालिका, लहान नगरपालिका लगायत सिरहाका विभिन्न स्थानीय तहबाट श्रद्धालुहरू सरस्वती नदीमा स्नान गर्न आउने गरेका छ । विशेषगरी चाडपर्वका दिन नदीमा स्नान गर्ने श्रद्धालुहरूको संख्या बढ्ने भएकाले सरस्वती नदी परिसरमा मेला जस्तै भीड लाग्ने गरेको स्थानीयहरू बताउनु भयो ।

हिन्दु धर्मावलम्बीहरूले विभिन्न चाडपर्वका अवसरमा सरस्वती नदीमा स्नान गरी घर तथा मन्दिरमा पूजापाठ गर्ने परम्परा रहिआएको छ ।