सुनिल कुमार साह 

सिरहा, असोज १५ गते । सिरहाको सुखीपुर नगरपालिका–१ गागन पुलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको अपाचे मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी सुखीपुरका सहायक निरीक्षक बालकुमार रामको कमान्डमा खटिएको गस्ती टोलीले गाँजा भरिएको बोलेरो गाडी पक्राउ गरेको हो।

शिवचोकस्थित गागन पुलमा सशस्त्र प्रहरीलाई देखेपछि बोलेरो चालक तथा तस्करले गाडी रोकी भाग्ने प्रयास गरेको र सो क्रममा एक जना चालकरतस्कर पुलबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ।

राजमार्गको कचहा चोकदेखि दक्षिणतर्फ जाँदै गरेको बा।१४ च २९४ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो।

त्यसैगरी, गाँजा ओसारपसारमा प्रयोग भएको अपाचे मोटरसाइकल ९स।६ प ४८५९० समेत छाडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय सिरहा जिल्लामा बरामद भएको गाँजामध्ये यो ठूलो परिमाणको बरामदगी हो। पक्राउ गरिएको गाँजा तथा सवारीसाधनलाई आवश्यक अनुसन्धानका लागि सिरहा गणमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।