सिरहा,माघ ५ गते । जनमत पार्टीका राष्ट्रअध्यक्ष डा. सी. के. राउतले मधेसका अधिकार, पहिचान र समानताका लागि संघर्ष जारी राख्नुपर्नेमा जोड दिनुभएको छ।

लहानमा माघ ५ गते आयोजित बलिदानी दिवस कार्यक्रममा उहाँले देशमा संघीयता, समावेशीता र पहिचानका मुद्दा स्थापित भए पनि सहिदहरूले देखेको सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताउनुभएको छ।

डा. राउतले सहिदहरूको बलिदानले संघीयताको ढाँचा निर्माण गरेको तर मधेसका वास्तविक माग अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै, अधिकार र पहिचानका लागि संघर्षको विकल्प नरहेको प्रस्ट पार्नुभएको थियो।

मधेस आन्दोलनका क्रममा आजकै दिन २०६३ माघ ५ गते लहानमा स्थानीय युवा रमेश महतोले ज्यान गुमाएका थिए। उहाँको बलिदानका अवसरमा मधेस केन्द्रित राजनीतिक दलहरूले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन्।

आजको कार्यक्रममा जनता समाजवादी पार्टीका मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्री राजु गुप्ता, रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह, जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउत लगायत नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

सहीद रमेश महतोसहित अन्य सहिदहरूको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण समेत गरिएको छ।

मधेसवादी दलहरूले विगतका आन्दोलनहरूमा एक सय १७ जनाको ज्यान गएको दाबी गर्दै आएका छन्। तर मधेसी सहिद प्रतिष्ठानका तथ्यांक अनुसार ६३ जनाले सहादत प्राप्त गरेको र ७२ जना घाइते भएको जानकारी प्राप्त भएको छ।