सिरहा, माघ ४ ।संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि र पशुपन्छी क्षेत्रको विकास बिना समग्र आर्थिक विकास सम्भव नहुने बताउनुभएको छ । मन्त्रालयले यी क्षेत्रको विकासका लागि योजनाबद्ध र सूक्ष्म रूपमा काम अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो ।

सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–६ कडरबोनामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको आज उद्घाटन तथा हस्तान्तरण गर्दै मन्त्री परियारले यस केन्द्रले स्थानीय कृषक तथा पशुपालकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन र समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहलाई कृषकमुखी विशेष कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सुरुंगा नगरपालिकाकी नगर प्रमुख गीता चौधरीले पशुपालन क्षेत्रमा नगरपालिकाले सप्तरी जिल्लामा दोस्रो स्थान हासिल गरेको जानकारी दिँदै सेवा केन्द्र सञ्चालनपछि पहिलो स्थानमा पुग्ने दाबी गर्नुभयो । नवनिर्मित भवनले किसानले भोग्दै आएका समस्या समाधान गर्दै प्रभावकारी सेवा दिने उहाँको प्रतिबद्धता थियो ।

ग्रामीण उद्योग तथा आर्थिक विकास परियोजना (एडीबी) अन्तर्गत दुई करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यस सेवा केन्द्रबाट कृषक तथा पशुपालकले प्राविधिक परामर्श, उपचार सेवा तथा आधुनिक कृषि सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।

उक्त परियोजनाअन्तर्गत देशका ६ प्रदेशका ३६ जिल्लाका १७१ स्थानीय तहमा कृषि तथा पशुपन्छी सेवा केन्द्र निर्माण भइरहेको छ ।