सिरहा,पुस २९ गते । सिरहा । सिरहाको लहान नगरपालिकाको १७ औँ नगरसभा भव्यरूपमा सम्पन्न भएको छ । उद्योगपति तथा समाजसेवी उमाप्रसाद मुरारका तथा प्रादेशिक अस्पतालका जग्गादाता मुरारी प्रसाद मुरारकाको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो ।
नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरूमाथि विस्तृत छलफल गरिएको छ । सभामा प्रस्तुत नीति तथा कार्यक्रमहरूलाई नगरको आवश्यकता र जनताको चाहनाअनुसार थपघट गर्नुपर्ने विषयमा नगरसभा सदस्यहरूले सुझाव दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुरारी प्रसाद मुरारकाले स्थानीय तहको विकासमा नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रम जनताको जीवनस्तर सुधार्ने खालका हुनुपर्छ । शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढे लहानको दिगो विकास सम्भव हुने बताउनुभयो ।
नगरसभामा नगरप्रमुख महेश प्रसाद चौधरीले नगरको समग्र विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।
लहान नगरपालिकालाई व्यवस्थित, समृद्ध र जनमुखी नगर बनाउने हाम्रो लक्ष्य हो । प्राप्त सुझावहरूलाई समेट्दै आर्थिक वर्ष ०८२/०८३ का नीति तथा कार्यक्रम परिमार्जन गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिने नगर प्रमुख चौधरीले उल्लेख गर्नु भयो ।
उद्योगपति तथा समाजसेवी उमाप्रसाद मुरारका तथा प्रादेशिक अस्पतालका जग्गादाता मुरारी प्रसाद मुरारका लगायत मुरारका परिवारका लाई दोसल्ला तथा सम्मान पत्र सहित नगर प्रमुख चौधरीले सम्मान गरेको थियो ।
नगरसभामा वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । जग्गा दाताहरुलाई सम्मान गरेको थियो ।



















