सिरहा, पुस २६ गते । सरहाको लहान नगरपालिका वडा नं. ११ वेलीमा जोईस (जोशी) थाक वंशावलीहरूको छैठौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

देशभरबाट आएका जोईस वंशावलीका प्रतिनिधि तथा अगुवाहरूको व्यापक सहभागितामा सम्मेलन सम्पन्न भएकोे हो ।

कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका पूर्व न्यायाधीश तथा समाजसेवी सत्यमोहन जोशीले वंशावली संरक्षण केवल इतिहास जोगाउने काम मात्र नभई सामाजिक एकता, संस्कार र पहिचानलाई पुस्तौंदेखि निरन्तरता दिने अभियान भएको उल्लेख गर्नुभयो ।

अधिवेशनमा संगठनको हालको अवस्था, भावी रणनीति, वंशावली अभिलेखीकरण, युवा सहभागिता र सामाजिक सेवाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

जोईस समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा आधुनिक पुस्तालाई त्यसप्रति जोड्ने विषयलाई विशेष प्राथमिकता दिइएको आयोजकहरूले बताएका छन् ।

कार्यक्रमका क्रममा नयाँ कार्यसमिति गठन गरिएको छ भने आगामी दिनमा शैक्षिक सहयोग, सामाजिक चेतना अभिवृद्धि र समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

अधिवेशनले जोसी समुदायबीच आपसी समझदारी, सहकार्य र एकताको भावना अझ बलियो बनाएको सहभागीहरूले बताएका छन् ।