सिरहा, पुस २२ गते । बढ्दो चिसोसँगै शीतलहरको प्रभाव तीव्र बन्दै गएपछि लहान नगरपालिकाले चिसोबाट बच्न सहयोगस्वरूप फाइबरको सिरक वितरण गरेको छ । नगरपालिकाले अति विपन्न, दलित तथा गरिब परिवारलाई लक्षित गर्दै हालसम्म ७ सय ४० जनालाई सिरक वितरण गरेको हो ।

जाडोयाममा चिसोका कारण हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सहयोग सामग्री वितरण गरिएको लहान नगरपालिकाले जनाएको छ । चिसो मौसमका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर सिरक वितरण गरिएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ७ सय ४० जनालाई सिरक वितरण गरिएको छ भने थप एक हजार जनालाई सिरक वितरण गर्ने तयारी भइरहेको छ ।

नगर प्रमुख चौधरीले लहान नगरपालिकाका २४ वटै वडामा रहेका गरिब, असहाय तथा जोखिममा रहेका परिवारलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । सिरक वितरण कार्यक्रम अन्तर्गत विभिन्न वडामा पुगेर प्रत्यक्ष रूपमा फाइबरका सिरक हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

स्थानीयवासीहरूले चिसोको समयमा नगरपालिकाबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । उनीहरूले कठिन समयमा साथ दिएको भन्दै नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । नगरपालिकाले आगामी दिनमा पनि आवश्यकता अनुसार थप राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।