सिरहा,चैत्र १४ गते । संघीय युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी विद्यालयको भौतिक पूर्वाधार मात्र नभई शिक्षकहरुको लगनशीलता इमान्दारिताले मात्र शैक्षिक गुणस्तरीयता कायम गर्न सकिने वताउनुभएको छ ।
सप्तरीको सुरुंगा नगरपालिका वडा नं. १ स्थित श्री जनता माध्यमिक विद्यालय, शिशुवारीमा भारतीय एम्बेसीको सहयोगमा तीन करोड बढी रकममा बन्न लागेको तीन तल्ले भवनको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीेले बन्न लागेको भवनले विद्यालयमा भौतिक पूर्वाधार अभावमा विद्यालयलाई भइरहेको समस्या परिपूर्ति गर्ने भए पनि शैक्षिक गुणस्तरीयता कायम गर्न शिक्षकहरु इमान्दारितापूर्वक लाग्न आग्रह गर्नुभयो ।
मन्त्री चौधरीले बन्न लागेको विद्यालय भवन निर्धारित मितिमै बनाउन ठेक्का पाएका निर्माण व्यवसायीलाई निर्देशन दिंदै तोकिएको समयमा भवन बनाउन ढिलाई गरे कानुनीको सहारा लिन वाध्य नपार्न समेत आग्रह गर्नुभयो । उहाँले भारत र नेपालको सदियौदेखि भइरहेको मित्रवत व्यवहारलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
भारतीय दूतावासका उप सचिव गरिमा नौटीयाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता परियोजनाहरू महत्वपूर्ण रहेको बताइन् । उहाँले यी यस्ता खालका परियोजनाहरु नेपालमा निरन्तर संचालन हुने प्रतिबद्धता जनाउनुभयो ।
भवन बनाउन लागत खर्चको पहिलो किस्तावापत्को रकम सुरुंगा नगरपालिकाका नगरप्रमुख गीता चौधरीलाई भारतीय दुतावासका उप सचिव गरिमा नौटीयाले हस्ताान्तरण गरेकी छन् ।
तीन करोड १४ लाखको लागतमा बन्न लागेको उक्त तीनतल्ले विद्यालय भवन २०८३ साल वैशाख ३१ गते सम्पन्न हुने जनाइएको छ ।





















