सिरहा,भदौ १६ गते । सिरहाको गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को नगरसभाले पारित गरेको मालपोत (कर) वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्रले आज नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
संघर्ष समितिका अध्यक्ष जीवन कुमार यादवले गोलबजार नगरपालिकाका नगर उपप्रमुख माल्ती साहलाई ज्ञापन पत्र बुझाउँदै जनतालाई ढाँड सेक्ने गरी बढाइको कर सात दिनभित्र फिर्ता नलिए चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् ।
नगर उपप्रमुख मालती साहले मालपोत कर र भूमि वर्गीकरणमा देखिएको समस्या चाँडै नै समाधान गरिने जानकारी दिनुभयो ।
गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को लागि असार १० गते सम्पन्न नगरसभाले मनोपोली ढंगले भूमि वर्गीकरण गरेपछि गत विगतमा प्रति कठ्ठा पाँच देखि १० रुपैयाँ तिरिरहेको कर अहिले प्रति कठ्ठा आठ सयसम्म नगरवासीले तिर्नुपर्ने वाध्यता भएको छ ।
जारी ज्ञापन पत्रमा मालपोत भूमि कर खारेजी र जग्गाको वर्गीकरण र मूल्यांकन वैज्ञानिक ढंगले गरियोस्, सिफारिश शुल्क शुलभ र अन्य शिर्षकमा गरिएको कर वृद्धि खारेजी, सूचना माग्दा कानुनतहत तरिकाले उपलब्ध गराइयोस्, हाट बजार ठेक्का र असुली पारदर्शी गरियोस्, नगरपालिकाको निर्माणाधिन प्रमुख प्रशासकीय भवन निर्माण कार्य अविलम्ब सुचारु गरियोस्, विकास निर्माणको काममा पारदर्शिता र सुशासन कायम गरियोस् लगायतका माग समेत समावेश गरिएको छ ।
























