सिरहा,श्रावण २८ गते । सिरहाको धनगढीमाई नगरपालिकामा नगर प्रमुख शिवशंकर महतोको गैर जिम्मेवारीपनाका कारण नगरपालिकाको सम्पूर्ण कामहरु लथालिंग बनाएको भन्दै तीन सुत्रीय माग राख्दै वडा अध्यक्षहरुले २४ घण्टे अल्टिमेटम दिएको छ ।
आज जारी संयुक्त वक्तव्यमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्त दुरुस्त बनाउन, अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्याहरु समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आव्हान गर्नुपर्ने र नगरसभाको मिति यथाशिघ्र तय गर्नुपर्ने माग राखेका छन् ।
१४ वटा वडा रहेको नगरपालिकाको १० वटा वडा अध्यक्षहरुको हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा २०८१ श्रावण २९ गते ४ बजेभित्र माग सम्बोधन नभए मेयर महतो विरुद्ध कडा कदम चाल्ने उल्लेख रहेको छ ।
धनगढीमाई नगरपालिकामा लोक सेवा आयोग कक्षा संचालन, अनियमित ढंगले बोर्डिंग जडान, ब्यूटी फार्लर लगायत आधादर्जन भन्दा बढी सीपमुलक तालिम संचालन, विकास निर्माण लगायतका काममा भ्रष्टाचार गर्दै आएको स्थानीयको आरोप छ ।
नगरपालिकालाई भ्रष्टाचारको चरम उत्कर्षमा पुर्याउन सफल मेयर शिवशंकर महतो, प्रमुख प्रशासकिय अधिकृत राजकुमार दास, लेखा अधिकृत पुरुषोत्तम साह लगायत मेयर महतो लगायतकाले व्यक्तिगत लाभ हुने काम लहानमा रहेको भाडाको कोठाबाट कार्यालय संचालन गर्दै आइरहेको स्रोतले जानकारी दिएको छ ।
स्मरणरहोस् हालसम्म धनगढीमाई नगरपालिकाको नगर सभा भएको छैन । वडा अध्यक्षहरुले नगरपालिकाको बजेट खर्चहरु हिसाव किताव मागेपछि मेयर महतोले नगर सभा गर्न आलटाल गर्दै आएको छ ।
यस सम्बन्धमा मेयर शिव शंकर महतो र प्रमुख प्रशासकीय अधिकृत राजकुमार दाससँग सम्पर्क गर्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन ।





















