जनकपुर, चैत्र २१ गते । 

मधेश प्रदेश सरकार अन्तर्गत गृह, संचार तथा कानुन मन्त्रालयमा मंगलबार बसेको प्रदेश सुरक्षा समन्वय समितिले मधेश प्रदेशका जिल्लाहरुमा बजाइने डिजेलाई निषेध गर्ने निर्णय गरेको छ । 

गृह, संचार तथा कानुन मन्त्रालयका माननीय मन्त्री राजकुमार लेखीको अध्यक्षमा बसेको बैठकले विभिन्न चाडपर्व, मेलापातको बहानामा चर्को आवाजमा बजाउने डिजेले आतंकित पारेको भन्दै स्थानीय तहसँगै विभिन्न माध्यमबाट आएको उजुरीको आधारमा ध्वनी प्रदुषण हुने खालको उपकरण बजाउन नदिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । 

गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार डिजे आतंकले ध्वनी प्रदुषणसँगै विद्यार्थी तथा दीर्घरोगीलाई स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले डिजे बजाउन नदिने निर्णय गरेको वताउनुभयो । 

मन्त्रालयले गरेको निर्णय मातहतका कार्यालय र सम्पूर्ण स्थानीय तहमार्फत् पत्राचार गरिएको वताउँदै मन्त्रालयको निर्णयलाई अटेर गर्ने जोकोहीलाई कानुनी अनुसार दण्डित गरिने समेत मन्त्री लेखीले उल्लेख गर्नुभयो । 

विशेषतः मधेश प्रदेशका जिल्लाहरुमा विभिन्न चाड पर्व, विवाह, ब्रतबन्ध लगायत खुशीयाली स्वरुप चर्को स्वरमा डिजे लगायत उपकरणहरु बजाएर रमाउले गर्ने गरिएको छ ।