सिरहा, फागुन २ गते । लोसपाका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमंत्री राजेन्द्र महतोले उत्पीडित वर्ग जातिको पूर्ण अधिकारको लागि संयुक्त रुपमा राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्ने बताउनु भएको छ । सबैको राष्ट्रिय पहिचान कायम गर्न बहुपहिचानको कुरा गर्दै बहुल राष्ट्रवाद हुनुपर्ने धारणा राख्नु भयो ।
सिरहाको मिर्चैयामा आयोजित नेता एवं कार्यकर्ताहरुको भेलामा नेता महतोले मधेशवादी पार्टी सत्ता बसेर मधेशी कार्यकर्तालाई पठाइरहेका छन् । उनले मधेशवादी सहभागी रहेको यो सरकारको मागको आधारमा अदालतले मधेश आन्दोलनकारीलाई जन्मकैद लगायतको सजाय गरिएको बताउनु भयो ।
यी विभेदविरुध मधेशी, थारु, जनजाति, आदिवासी, ओबीसी, मुस्लिम, दलित सबैले साझा रुपमा लड्न राष्ट्रिय मुक्ती क्रान्ति गर्नको लागि यो अभियान शुरु गर्न लागेको भन्दै नेता महतोले चैत १ गते अभियानको घोषणा हुन सक्ने बताउनु भयो । उनले आन्दोलनको लागि मधेशका सबै जिल्लाहरुमा मधेश युथ लिग गठन गरिने र यसको लागि तयार गर्न समेत बताउनु भयो ।
कार्यक्रममा उनीसंगै रहेका लोसपाका राष्ट्रिय उपाध्यक्ष एवं पिछडावर्ग महासंघको राष्ट्रिय अध्यक्ष कौशल कुमार सिंहले संविधान नै उत्पीडित वर्गको विरुधमा रहेकोले सबैको पहिचान र अधिकारको लागि बहुल राष्ट्रवादको लागि राष्ट्रिय मुक्ती क्रान्ति हुनुपर्ने बताए । कार्यक्रममा लोसपा केन्द्रीय एवं जिल्लाका नेताहरु, पिछडावर्ग महासंघका नेता कार्यकर्ता एवं मधेशका बुद्धिजीवी, यूवा, महिलाहरुको सहभागिता रहेको छ ।




















