सिरहा,माघ २८ गते । सिरहाको मिर्चैया नगरपालिकामा कर्मचारीको विषयलाई लिएर नगरपालिका तालाबन्दी गर्न पुगेका स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरी निरीक्षक सहित सहित केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।
वडा नम्बर ३ मा वडा सचिव नपठाउँदा कामकाज साता बढीदेखि प्रभावित भएको भन्दै नगरपालिकाको विरोधमा आइतबार स्थानीय युवाहरुले नगरपालिका तालाबन्दी गर्न जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीको ढुगामुढाबाट नगरपालिकाको झ्यालका सिसा, मोटर साइकल सहित कर्मचारीहरुलाई समेत चोटपटक लागेको जनाइएको छ ।
मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवले आज एक विज्ञप्ति जारी गर्दै कुनै मागै नराखी नगरपालिकाको कार्यालयमा क्षति हुने गरी गरेको ढुंगामुडाको घोर भत्र्सना गर्दै दोषी उपर कडा कारवाहीको स्थानीय प्रशासनसँग माग गरेको छ । तत्कालै दोषी उपर कारवाही अगाडि नबढाए त्यसबाट उत्पन्न हुने घटनाको स्वयं जिम्मेवारी स्थानीय प्रशासन हुने चेतावनी समेत विज्ञप्तिमार्फत् दिएका छन् ।





















