सिरहा,पुस २१ गते । भारतको पंजावस्थित सेलर मिलमा काम गरिरहेको अवस्थामा सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ३ नवटोलीका पंचा कामतको मृत्यु खबरले उनका परिवार स्तब्ध बनेका छन् ।

मृत्युको कारण हालसम्म नखुले पनि आर्थिक विपन्नताका कारण भारतबाट लास ल्याउने बारेमा उनका परिवार चिन्तित बनेका हुन् । मृतक कामतका छोरा नथुनी कामतले विहान बेलुका छाक टार्न मुश्किल भइरहेको बेला बुवाको लाश कसरी ल्याउने भन्ने आफू चिन्तामा परेका वताए । उनले स्थानीय सरकारसँगै सहयोगी हातहरुलाई बुवाको लाश ल्याउनमा सहयोग गरी दिन सबैमा अपिल समेत गरेका छन् ।

चार छोरी र एक छोरा रहेका कामत परिवारको गुजाराको लागि पाँच महिना अघि ठेकेदारको माध्यमबाट भारतको पंजावस्थित एक सेलर मिलमा काम गर्न गएका थिए । कामतको मृत्यु खबरले ठेकेदार समेत फरार रहेको परिवारजनले जनाएको छ ।

विहीबार साँझसम्म घर परिवारसँग कुराकानी गरेका कामतको मृत्यु कसरी भयो सो खुल्न नसकेको जनाइएको छ ।