सिरहा,मंसिर ११ गते । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा स्नान गर्ने श्रद्धालुहरुको आज असंख्य रुपमा घुइँचो लागेको छ ।
आइतबार साँझबाट सिरहा, धनुषा, महोत्तरी लगायत भारतको विहारबाट समेत श्रद्धालुहरु कमला नदीको सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाटमा स्नान गर्न पुगेका हुन् ।
विशेष गरी ग्रामीण क्षेत्रका टुनामुनामा विश्वास गर्नेहरुले आजका दिन कमला नदीमा स्नान गरे तन्त्र मन्त्रमा सिद्धि हुने जनविश्वासको कारण कमला नदीमा नुहाउनेहरुको भीड लागेको हो ।

कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरे रोग व्याधि नलाग्ने जनविश्वास रहेपनि पछिल्लो केही वर्षदेखि आजको दिनलाई भूत मेलाको रुपमा परिणत हुन थालेको छ । यस्तो कुप्रथालाई सम्बन्धित निकायले वेलैमा नियमन नगरे हिंसाका घटनाहरुले थप प्रश्रय पाउन सकिने जानकारहरु वताउँछन् ।
२१ औं शताब्दीमा पनि मधेश प्रदेशका कतिपयले भूत प्रेत एवम् टुनामुनामा विश्वास गरेकै कारण अकालमै ज्यान गुमाउनु परेको छ भने महिलामाथि हुने हिंसाहरु पनि दिन प्रति दिन बढ्दै गएको तथ्यांकले देखाउँछ ।























