बारा,मंसिर ५ गते । बारा जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा प्रहरीले हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मेला लगाउने विषयमा दुई पक्षबिच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न सोमबार राति ८ राउन्ड गोली हवाई फायर गरेको हो
सोमबार राति करिब १० बजे झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवादको क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत भएको थियो ।
उक्त स्थानमा तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको थियो ।
केही समयपछि करिब ११ः४५ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाईफायर गरेको प्रहरीले बताए ।
झडपमा ढुंगा हानाहान हुँदा पचरौता–७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।




















