सिरहा, मंसिर १ । बडो आस्थ एवम् निष्ठा पूर्वक धुमधामसँग मनाइने छठ पूजाको लागि पूजा सामाग्री किन्ने श्रद्धालुहरुको सिरहाका स्थानीय व्यापारिक बजारहरु लहान, धनगढी, गोलबजार, चोहर्वा, सिरहाका बजारहरुमा घुइँचो लागेको छ । 

श्रद्धापूर्वक मनाइने छठ पर्वका लगि पूजाका सामाग्रीहरु ढाकी, नाङलो, कोनीयाँ, उँखु, केरा,  माटोले बनाएको हाथी, ढकनी लगायका सामाग्रिहरु किन्न वजारमा घुइँचो लागेको हो ।

पूजा सामाग्रीको मूल्य स्थानीय व्यापारीहरुले कृतिम रुपमा बढाएपनि सरोकारवालाहरुको अनुगमनकारी भूमिका फितलो भएको स्थानीयको गुनासो छ । गत वर्षको तुलनामा यसपल्ट पूजाको सामाग्रीमा दोब्बर मूल्य वृद्धि भएपछि पूजाको सामाग्री किन्न निक्कै सकस भइरहेको श्रद्धालुहरु वताउँछन् ।  

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि देशैभरि धुमधामसँग मनाईने छठ पर्व निष्ठापूर्वक आजदेखि शुरु भएको छ । चार दिनसम्म मनाइने यो पर्वको आज नेहाय खाय (नुहाएर खाने), भोलि खरना (खिर खाने) र पर्सी आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व समापन हुनेछ ।