सिरहा कार्तिक २१ गते । सिरहाको गोलबजार वडा नं। ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिवकुमार साहको शंकास्पद रुपमा पासोमा मृत्यु भएको भन्दै जिल्लास्थित पेशागत संगठनहरुले सत्य तथ्य निष्पक्ष छानविन गरी दोषीलाई कार्वाहीको माग गर्दै आज सिरहा जिल्लाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएका छन् । 

विद्यालय बन्दका कारण जिल्लाका भरिका सम्पूर्ण निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको पठन पाठन अवरुद्ध भएको छ । 

सिरहा जिल्लाभरि रहेका आठ वटा पेशागत संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही नगरिए जिल्लाका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने सम्बन्धित निकायलाई चेतावनी दिएको छ । 

यता जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी  राजेन्द्रदेव पाण्डेले घटनाको छानविन भइरहेकोले विद्यालय बन्द गर्न नहुने बताएका छन् । उहाँले स्थानीय तहसँग समन्वय गरी बन्द रहेको विद्यालय खुलाउने प्रयास भइरहेको जनाएको छ । 

प्रधानाध्यमपक साह आईतबार विहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए ।