सिरहा, कार्तिक २० गते । सिरहाको गोलबजार वडा नं. ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै परिवारजन आन्दोलित भएका छन् ।

घटनाको प्रकृति हेर्दा आत्महत्या हत्या नभई हत्या भएको जनाउँदै आफन्तजनले घटनाको निष्पक्ष छानविन र दोषीलाई कारवाहीको माग गर्दै पूर्वपश्चिम राजमार्गको मिर्चैंयामा सडक अवरुद्ध समेत गरिएको छ । विरोधका कारण सयौं सवारी साधन अलपत्र परेका छन् ।

घटनाको ढोकछोप गर्ने प्रयास भएको भन्दै मृतकका पत्नी राजमार्गमै सुतेर घटनाको निष्पक्ष छानविन गरी हत्यारालाई कारवाही नगरिए आत्मदाहको चेतानवी समेत दिएकी छन् । 

विद्यालय व्यवस्थापन समिति गठन भएदेखि श्रीमान् बढी प्रेसरमा भएको जनाउँदै पति सरुवा हुन खोजेपनि सरुवा सहमति नदिई स्थानीय राजनीतिक दल र व्यवस्थापन समितिको मिलोमतोमा पतिको हत्या गरिएको मृतकका पत्नी मीना कुमारी साहले आरोप लगाएकी छिन् । 

प्रधानाध्यमपक साह आईतबार विहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए । उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ ।

यसैबीच जिल्ला शिक्षकहरुको पेशागत संगठनहरुले आज एक विज्ञप्ति जारी गर्दै प्रधानाध्यापक संजीव कुमार साहको हत्या भएको भन्दै निष्पक्ष छानविन गरी दोषी उपर कार्वाही नगरिए संगठन आन्दोलनमा उत्रिने सम्बन्धित निकायलाई चेतावनी दिएका छन् । विरोध स्वस्वरुप जिल्ला शिक्षकहरुको पेशागत संगठनहरुले भोलि मंगलबार गोलबजार नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने घोषणा गरेका छन् । 

यता सिरहा प्रहरीले घटना प्रकृतिले आत्महत्याको सङ्केत गरेपनि अनुसन्धान जारी रहेको वताउँदै पोष्टमार्टमको रिपोर्टपछि मात्र केही बताउन सकिने जनाएको छ । 

aa