सिरहा २८ असार । सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षा सम्बन्धी संचालित तालिममा जनप्रतिनिधि र कर्मचारीहरुको सेटिंगमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले खर्च विवरणको माग गर्दै नगरपालिकामा नारावाजी गरेका छन् ।
श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङ्गसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि सेटिंगमानगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन मध्ये ३१ लाख २४ हजार ७०४ रुपैयाँ भुक्तानी गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् । सोचनीय विषय यो पनि छ कि ती दुई कार्यक्रम खरिदार र नायब सुब्बा कार्यक्रमको लागि एउटै सेवा प्रदायक संस्थासँग नगरपालिकाले सम्झौता गरेको छ ।
सम्झौता बमोजिम खरिदारमा ६६ र नायवुसुब्बामा ६५ जनासहित एक सय ३१ जना विद्यार्थी सहभागी रहने गरी सेवा प्रदायक संस्थासँग सम्झौता साकार भए पनि विद्यार्थीहरुको सहभागिता भने पचास जना पनि अपुग रहेको स्थानीय योगेश कुमार सिंहले वताउनुभयो ।
दुई वटा विषय खरिदार र सुब्बाका लागि छुट्टा छुट्टै सम्झौता र छुट्टाछुट्टै बजेटिंग गरेको भएपनि एउटै कक्षामा पढाउनु, सहभागीलाई कुनै पनि सामाग्री नदिई फर्जि बिल बनाइनु, किर्ते सहभागी बनाउनु एवम् सहभागीहरु नआएकै दिन पनि हाजिरी गराउनुले कार्यक्रममा व्यापक अनियमितता भएको सहभागी शिवकुमार रामले उल्लेख गरका छन् ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले खर्चको विवरणनगरप्रमुख शिवशंकर महतो आएपछि सल्लाह गरेर दिन्छु भन्दै पछाडि हटे भने लेखा अधिकृत पुरुषोत्तम साहले आफ्नो बचाउ गर्दै अहिले खर्च विवरण माथि पठाउने चटारो भएकोले एक दिन पछि दिन्छु भन्दै आनाकानी गरेका छन् ।
तलिमका सहभागीहरुको लागि पुस्तक, ह्याण्डस्आउट र भेष्ट जस्ता सामाग्रीहरु बजेटिंगमा व्यवस्था गरेपनि त्यस्तो कुनै पनि सामाग्री नपाएको सहभागीहरुलाई दिएका छैनन् भने बेनामे सहितको सहभागीको हस्ताक्षर सहित तालिममा सहभागीहरुलाई अनुपस्थित भएको दिनको समेत हाजिरी गराएको आरोप लगाएका छन् ।
कर्मचारी र जनप्रतिनिधिहरुको सेटिंगमा नगरपालिकामा व्यापक अनियमितता भएको जनगुनासो आउन थालेपछि स्थानीयले खरिदार, नायव सुब्बा लगायतका कार्यक्रमसँगै ब्युटिसियन तालिम लगायतका लक्षित समुदायको लागि संचालन गरेको कार्यक्रमको समेत विवरण माग गरेका छन् । विकास निर्माण लगायत लक्षित समुदायको लागि संचालित कार्यक्रमहरुको विवरण नदिएमा नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयले चेतावनी समेत दिएका छन् ।




















