वीरगञ्ज, १७ बैशाख । होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय संघ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ ।
संघका अध्यक्ष हरि पन्त नेतृत्वको होल तथा पर्यटन व्यवसायीहरुको टोलीले सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।
मुलुकको आर्थिक विकासमा होटल तथा पर्यटन व्यवसाय क्षेत्रको महत्वपुर्ण भूमिका रहेको भन्दै होटल तथा पर्यटन व्यवसायीहरुले यस क्षेत्रको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग गरेका छन् ।
उद्यम र रोजगारीको भरपर्दाे श्रोत तथा बैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल तथा पर्यटन व्यवसाय भएकोले यसको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग आफुहरुले मन्त्रीसमक्ष गरेको संघका अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
होटल तथा पर्यटन व्यवसायले उद्योग सरहको मान्यता प्राप्त गरेपछि सहुलियत र सुविधाहरु पनि पाउने भएकाले यसबाट होटल तथा पर्यटन व्यवसायलाई तंग्रिन र विकास गर्नमा मद्दत मिल्ने अध्यक्ष पन्तको भनाई छ ।
होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्नु हुँदै मन्त्री रिजालले छिट्टै नीतिगत र प्रक्रियागत अड्चनहरुलाई सच्याएर होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योग सरह मान्यता दिलाउनेमा प्रतिबद्ध रहेको बताउनुभयो ।




















