सिरहा,बैशाख १५ गते । धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेका छन् ।
उनीहरुले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द गरिस तथनाम भन्दै पानीको बोतल प्रहार गरेको कर्मचारीहरुले जानकारी दिएको छ । हातपात गर्न थालेपछि तत्कालै नगर प्रहरी प्रवेश गरी शर्माको समुहलाई बाहिर निकालेको थियो ।
कुटपिटको विरुद्ध नगरपालिकाका कर्मचारीहरु शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गरेको छ ।
नगरपालिकाले वडा–१० स्थित अवैध रुपमा उत्खन्न भइरहेको ग्राभेल खानी बन्द गराएको थियो । त्यही विषयमा निहुँ खोज्दै कमलामाई सप्लायर्स धनुषाधामका संचालक बेचन शर्माको नेतृत्वमा आएका धनगढीमाई–१२ का महेश अधिकारी र वडा–४ का रामएकवाल यादव (बतहा)सहित ५÷७ जनाको समुहमा आएका व्यक्तिहरुले प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले माथि हातपात गरेको छ ।
सम्पूर्ण कर्मचारीहरुको तर्फबाट विज्ञप्ती जारी गर्दै शान्ति सुरक्षा कायम र दोषीमाथि कारवाही नभए सम्म नगरपालिका र वडा कार्यालयहरुको कामकाज ठप्प राख्ने जनाइएको छ । घटनाबारे बुझने कार्य भएको र निवेदन आए सोही अनुसार छानबीन गरी कारवाही प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी रविन्द्रराज पाण्डे जानकारी दिए ।




















