सिरहा,चैत्र २५ गते ।सहकारी क्षेत्रको सूचना तथ्यांकहरुलाई नियमित, विश्वसनीय बनाई एकीकृत व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले सिरहाको लहानमा तालिम संचालन गरेको छ ।
सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली तालिममा मधेश प्रदेशको सात जिल्लाका ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) आयोजनासँग सहकार्य गर्ने सहकारीहरुको सहभागिता रहेको छ । यो तालिमले सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गर्न र गरिवी निवारण कार्यलाई दक्ष र प्रभावकारी गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

तीन दिनसम्म चल्ने तालिम सहकारी विभाग, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका नविन मैनाली, आयोजनाको वित्तीय समावेशीकरण अधिकृत त्रिवेन्द्र यादव लगायतकाले सहजीकरण गरिएको छ ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले मधेश प्रदेशको सात वटा जिल्लाका करिव डेढ सय सहकारीहरुलाई क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम संचालित छन् ।






















