सिरहा, चैत्र ४ गते । हरियो तरकारीको सामूहिक बजारीकरण गर्ने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ६ कट्टिोलमा सामूहिक बजारीकरणको उद्घाटन भएको छ ।
तरकारीको पकेट क्षेत्रको रुपमा वडा नं. ६, ७ र ८ नं. वडालाई लक्षित गरी संचालित सामूहिक बजारीकरणले त्यस भेगका किसानहरु लाभान्वित हुने जनाइएको छ ।
बजारीकरणलाई व्यवस्थित गर्न धनगढीमाई नगरपालिकाले सामूहिक बजारीकरण व्यवस्थापन समितिलाई एक लाख मूल्य बराबरको तराजु, क्यारेट, त्रिपाल लगायतका सामाग्री प्रदान गरेको छ ।

उक्त वडाहरुमा दैनिक ५० देखि सय क्वीन्टल हरियो तरकारी उत्पादन हुने गरेको छ । सामूहिक बजारीकरण अभावमा त्यस क्षेत्रमा उत्पादित हरिया तरकारी विचौलियाले तोकेको मूल्यमा बिक्री गर्नुपर्ने वाध्यता रहँदै आएको छ ।
धनगढीमाई नगरपालिकाको आर्थिक तथा नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गत् ग्रामीण उद्यम तथा विप्रेशन आयोजना (समृद्धि) को प्राविधिक सहयोगमा उक्त बजरीकरण संचालन भएको आयोजनाका तरकारी आपूर्ति श्रृखला अधिकृत श्यामसुन्दर साहले जनाइएको छ । बजारीकरणको उद्घाटन धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले गर्नुभएको थियो ।




















