सिरहा,फाल्गुन २७ गते ।भोजमा बोलाएर सिरहा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले जातीय भेदभाव गरेको भन्दै विभिन्न जातीय संघ संस्था तथा राजनीतिक दलका नेताहरु विरोध प्रदर्शनमा उत्रिएको छ ।
आज सिरहाको गोलबजारमा विरोध प्रदर्शन गर्दै जातीय भेद्भाव गर्न पाइँदैन, दोषीलाई कानुन अनुसार कार्वाही गर, सामाजिक समानता कायम गर, मानव अधिकारलाई संरक्षण गर लगायत प्ले कार्ड बोकी गोलबजार नगरपालिकाको परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । कोण सभामा वक्ताहरुले जातीय विभेद गर्ने गाउँपालिका अध्यक्षलाई कानुनी कार्वाहीको माग गरेको छ ।
अध्यक्ष यादवले आफ्नी दिवंगत आमाको १३ औँ दिनको पुन्यतिथिमा आयोजित भोजमा दलित, गैरदलित र मुस्लिमलाई प्लेकार्ड नै टाँसेर खाना खाने स्थान छुट्याएको थियो ।
विभिन्न संचार माध्यममा भोजमा जातीय विभेद गरेको समाचार प्रकाशन भएपछि राष्ट्रिय दलित आयोग, राष्ट्रिय दलित नेटवर्कलगायत विभिन्न जातीय संघसंस्था तथा राजनीतिक दलका नेताहरूले जातीय भेदभाव गर्ने अध्यक्ष यादवको विरोध गर्दै कारबाहीको माग गरेका थिए ।
चौतर्फी विरोध, आलोचना र कारबाहीको मागपछि उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भोज व्यवस्थापन गर्ने व्यक्तिबाट जातीय छुवाछुत हुने गरी भएको कामलाई आफूलाई स्तब्ध गराएको भन्दै माफी समेत मागिसकेका छन् ।




















