सिरहा,फाल्गुन २७ गते । सिरहाको गोलबजार वडा नं. ५ स्थित माँ धमिनी ईट्टा भट्टाको गोलभित्र रहेको दवाल भाँसिदा भट्टामा काम गरिरहेका मध्ये छ जना घाइते भएको छ । 

घाइते मध्ये नरहा गाउँपालिका पानवारीका जयनाथ सदायको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि उनलाई धरान लगिएको छ । 

अन्य घाइते हुनेहरुमा स्थानीय ४२ वर्षीय राम विलास सदाय, ३९ वर्षीय देविया सदा, १६ वर्षीय चन्दन सदा, २२ वर्षीय मोदिया सदा र विजय सदा रहेको छ । उनीहरुको उपचार गोलबजारस्थित लाइफ लंग  क्लिनिकमा भइरहेको इलका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 

माटोले बनेको ईट्टा पकाउने गोलभित्र रहेका दवाल पुरानो एवम् जिर्णका कारण दवाल भाँसिएको हुन सक्ने स्थानीयले आकलन गरेको छ । 

गोलबजार आसपास दुई दर्जन भन्दा बढी ईट्टा भटटाहरु रहेका छन् । ईटा भट्टाका संचालकहरुको लापरवाहीका कारण ईटाको गोलभित्र रहेको दवाल भाँसिदा वर्षेनी ५ देखि ७ जना मजदुरको ज्यान गइरहेको छ । 

ईलाका प्रहरी कार्यालय गोलबजारले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । 

गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम श्रेष्ठले घाइते कामदारको अवस्था बुझ्ना अस्पताल पुगेका छन् । अस्पतालमा पुगी नगरप्रमुख श्रेष्ठले काम गर्ने सिलसिलामा घाइते भएकाहरुको उपचार गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

माँ धमिनी ईट्टा भट्टा संचालक देव प्रसाद श्रेष्ठले घाइते भएका कामदारहरुको सम्पूर्ण खर्च आफूले व्यहोर्ने जनाएको छ ।