सिरहा,फाल्गुन १५ गते । हुलाकी राजमार्ग खण्ड अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल संचालन नै नभई भत्किएको करिव २० महिना पुगेको छ । भत्किएको पुल स्थलगत अवलोकनका लागि पुग्नुभएका नेपाल सरकारका उप प्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुल निर्माणको कार्य तत्काल शुरु हुने जनाएको छ । 

विशेष महत्वका साथ प्राविधिक टोलीसहित स्थलगत अनुगमनमा आइपुग्नुभएका मन्त्री श्रेष्ठले धनुषापट्टिको अस्थायी पुलको काम भोलिबाट र भत्किएको पुल निर्माणको कार्य दुई हप्ताभित्र संचालन हुने उल्लेख गर्नुभयो ।

vlcsnap-2023-02-27-18h40m46s307

मधेश प्रदेशको लाइफलाइनको रुपमा रहेको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कमला पुल भाँसिदा विगत २० महिनादेखि यावत जावतमा स्थानीयलाई निकै कठिनाई भइरहेको छ । क्षतिग्रस्त पुल नजिकै स्थानीयले बाँस र काठ हालेर कच्ची पुल बनाएका छन् त्यसबाट मोटरसाइकल, साइकल र पैतलयात्री आउजाउ गरिरहेका छन् ।  

भारतीय प्रविधि कोलकत्ताको डिजाइनमा नेपालमा पहिलो पटक ठेकेदारको ईस्टिमेटमा बनेको कमला पुल झण्डै ११ वर्षमा निर्माण सम्पन्न भई संचालनमा नआउँदै २०७८ साल असार १७ गतेको अविरल वर्षाले पुल भासिएको थियो । 

vlcsnap-2023-02-27-18h50m54s186

गलत डिजाइन र कमसल निर्माण सामाग्रीको प्रयोगले भासिएको पुल अवलोकन गर्न तथा स्थानीय आश्वस्त पार्न मन्त्री सहितको टोली कयौ पटक आए पनि पुल निर्माणको कार्य ज्यूँका त्यूँ रहेको छ । आज पुनः मन्त्रीले दिएको आश्वासनले पुल पुनः निर्माण हुन्छ हुँदैन अझै स्थानीयले शंका गर्ने ठाउँ यथावत रहेको छ । 

त्यससँगै मन्त्री श्रेष्ठले धनगढीमाई नगरपालिकाको सर्रेखोला र गोलबजार लगडीगदियानी सडकको समेत निरीक्षण अवलोकन गर्नुभएको थियो । 

vlcsnap-2023-02-27-18h50m16s568