सिरहा,फाल्गुन ९ गते । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ। 

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिण ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ। 

नेपाल र भारतका गरी १३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्। परिक्रमामा सहभागी श्रद्धालु सोमबार जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन्।

परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर शुरुवात गरेका छन्। मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोला दर्शन गर्न पाउँदा आत्मीय आनन्दको अनुभुति भएको बताए।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०७ र भारतको २६ किलोमिटरको दूरी पैदल यात्रा गर्छन्। पवित्र धार्मिक स्थलको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने विश्वास छ। परिक्रमा अवधिभर सहभागीले भजनकीर्तन पनि गर्छन्।

दुई मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २१५ विश्रामस्थल छन्।