सिरहा,फाल्गुन ९ गते । सिरहास्थित मिर्चैया नगर अस्पतालमा विरामीको चाप अत्यधिक बढेको छ । न्यून जनशक्तिका कारण सामान्यतया दैनिक एक सय देखि डेढ सयको संख्यामा विरामीहरु आउन थालेपछि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई भ्याई न भ्याई भएको हो ।
अस्पतालले कम खर्चमा छिटो छरितोसँगै विश्वसिनियता सेवा दिन थालेपछि आफूहरु निजी अस्पतालमा उपचार गराउन छोडेको सेवाग्राहीहरु बताउँछन् ।

२४ शैय्याको अस्पताल नगरपालिकाले आफ्नै स्रोत साधनबाट चौविसै घण्टा सुत्केरी लगायतका अन्य विरामीहरुको सेवा प्रवाह गर्न थालेपछि विरामीको संख्या बढेको हो । विरामीको चाप अनुसार स्टाफको कमीले अस्पताल व्यवस्थापन गर्न कठिनाइ भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सारीका गोइतले जानकारी दिईन् ।

अस्पतालमा प्रशुति, बालरोग विशेषज्ञ, सामान्य मेडिसिन, एक्सरे, ल्याव सेवा सहित अस्पतालको लागि आवश्यक सवै पूर्वाधार अस्पतालमा छ । सबै सरकारी अस्पतालहरुमा मिर्चैया नगर अस्पताल जस्तै सर्भिस अपग्रेट गर्दै नया नयाँ प्रविधि भित्र्याए स्वास्थ्य सेवा लिन निजी अस्पतालमा स्थानीयहरु धाउनु पर्ने वाध्यता हट्ने सरोकारवाला बताउँछन् ।























