सिरहा,फाल्गुन ८ गते । सिरहाको मिर्चैैया नगरपालिकाले वडा अध्यक्षको लागि नगर कोषबाट खरिद गरेको बाह्र वटा मोटर साइकल विगत आठ महिनादेखि अलपत्रमा परेको छ ।
यस अघिका वडा अध्यक्षले प्रयोग गरेको मोटर साइकल नयाँ निर्वाचित वडा अध्यक्षहरुले लिन नमानेपछि सो मोटर साइकल नगरपालिकाको परिसरमा थन्किएको हो ।

यस अघि दुई लाख २५ हजारको दरले १२ वटा मोटर साइकलको २७ लाख रकम नगर कोषबाट खर्चिएको थियो । नयाँ निर्वाचित भएर आएका वडा अध्यक्षहरुले मोटरसाइकलको सट्टा मासिक १० हजार सुविधा रकम लिन थालेपछि मोटरसाइकल थन्किएको नगरपालिकाका कार्यकारी अधिकृत सुजित कुमार यादवले वताउनुभयो ।
नगर कोषबाट रकम खर्चिएर खरिद गरेको मोटरसाइकल अकाश मुनि राख्दा पानी र घामले खिया लाग्न थालेको छ । थन्किएको मोटरसाइकलको बारेमा छलफल भइरहेको मिर्चैया नगरपालिकाले जनाएको छ ।





















