सिरहा, फाल्गुन ३ गते । स्थानीय जनतालाई स्वास्थ्य समस्याको कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सिरहास्थित मिर्चैया नगरपालिकाले स्वास्थ्य वीमा कार्यक्रमलाई अभियानको रुपमा लैजाने भएको छ ।
स्वास्थ्य वीमा कार्यक्रम अभियानलाई आज मंगलबार उद्घाटन गर्दै नगरपालिकाले नगर क्षेत्रभित्र रहेको १२ वटै वडामा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने जनाएको छ । वीमा उद्घाटनको क्रममा उपस्थित नगरपालिकाको सम्पूर्ण सदस्य तथा कर्मचारीहरुलाई आजैबाट वीमांकन गरिएको छ ।

६० हजार जनता रहेको मिर्चैया नगरपालिकामा हालसम्म करिव ४ प्रतिशत जनताले मात्रै स्वास्थ्य वीमा गराएका छन् । स्वास्थ्य वीमालाई प्रभावकारी बनाउन अभियानको थालनी गरेको नगरपालिकाका कार्यकारी अधिकृत सुजित कुमार यादवले उल्लेख गर्नुभयो ।
मधेश प्रदेशमा हालसम्म करिव ७ प्रतिशत जनताले मात्रै स्वास्थ्य वीमा गरेको तथ्यांकमा उल्लेख रहेको छ । पाँच जनाको परिवारले तीन हजार पाँच सय योगदान रकम तिरी गरेको वीमांकनबाट प्रत्येक सदस्यले वार्षिक एक लाख रकम बराबरको स्वास्थ्य सुविधा पाउने जनाइएको छ ।

कार्यक्रममा मिर्चैैया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सारिका गोइत, स्वास्थ्य शाखा प्रमुख विजय कुमार महतो लगायतकाले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत सुजित कुमार यादवले गर्नुभएको थियो ।






















